बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा भने तापक्रम बढ्ने

सोमबार, जेष्ठ ४ २०८३

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ। मधेस प्रदेश तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

आज कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ। साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मी बढ्न सक्ने अनुमान गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने बताइएको छ।

महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।