बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इरानसँग युद्ध अन्त्यबारे ‘निकै राम्रो’ वार्ता भएको ट्रम्पको दाबी

बिहिबार, बैशाख २४ २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव र युद्ध अन्त्यका विषयमा पछिल्लो २४ घण्टामा ‘निकै राम्रो’ वार्ता भएको दाबी गरेका छन्।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले इरान सम्झौताका लागि उत्सुक देखिएको बताएका हुन्।

उनले अमेरिका र इरानबीच सहमति हुने बलियो सम्भावना रहेको उल्लेख गर्दै वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको बताए।

ट्रम्पले भने, “उनीहरू सम्झौता गर्न चाहन्छन्। पछिल्लो २४ घण्टामा हाम्रो निकै सकारात्मक कुराकानी भएको छ र हामीबीच सहमति हुने बलियो सम्भावना छ।”

यस क्रममा उनले गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको हवाई आक्रमणबाट इरानमा ठूलो क्षति पुगेको पनि दाबी गरे।

ट्रम्पले अमेरिका अहिले पछि हटे इरानलाई उक्त क्षतिको पुनर्निर्माण गर्न कम्तीमा २० वर्ष लाग्ने चेतावनीसमेत दिएका छन्।

इरान र अमेरिकाबीच बढ्दो तनाव कम गर्ने उद्देश्यले पछिल्ला वार्ताहरू भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रम्पले इरान पक्ष वार्तामार्फत समाधान खोज्न सकारात्मक देखिएको पनि बताएका छन्।