काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनका क्रममा सार्वजनिक गरेको वाचापत्रलाई आधार बनाएर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताएका छन्।
सिंहदरबारमा रास्वपाका सांसदहरूसँग आगामी बजेटबारे छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले जनअपेक्षाअनुसार सन्तुलित बजेट ल्याइने बताएका हुन्।
उनले वाचापत्रमा समेटिएका प्राथमिकता र प्रतिबद्धताहरू बजेटमा प्रतिविम्बित हुने उल्लेख गर्दै बजेट निर्माण प्रक्रियालाई परिणाममुखी बनाइने बताए।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले बजेटको आकार, खर्च परिचालन, स्रोत व्यवस्थापन, ऋण तथा अनुदानको अवस्था, विद्यमान बजेट प्रणाली र राज्यका नियमित दायित्वबारे सांसदहरूलाई जानकारी गराएका थिए।
रास्वपा सांसद राजीव खत्रीले अर्थमन्त्री वाग्ले तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालसँग आगामी बजेटका विषयमा विस्तृत छलफल भएको जानकारी दिए।
उनका अनुसार अर्थमन्त्रीले बजेट र आयोजना माग्न सांसदहरूले मन्त्रालय धाउनुपर्ने पुरानो अभ्यास अन्त्य गरिने विश्वास दिलाएका छन्।
सांसद खत्रीका अनुसार अर्थमन्त्री वाग्लेले स–साना आयोजनामा बजेट छर्ने परिपाटी अन्त्य गर्दै सन्तुलित र प्रभावकारी बजेट ल्याइने बताएका थिए।
छलफलमा अर्थमन्त्री वाग्लेले विगतका बजेट प्रणालीमा देखिएका विकृतिहरू सुधार गर्दै परिणाम दिने खालको बजेट निर्माणमा सरकार केन्द्रित रहेको पनि बताएका थिए।