काठमाडौँ । नेपाल टेलिकम ले जिएसएम प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि प्याकेज समाप्त भएपनि डेटा सेवा निरन्तर राख्न वा बन्द गर्ने विकल्प अब ग्राहक आफैंले चयन गर्न सक्ने व्यवस्था सुरु गरेको छ।
‘पे–जी’ सुविधा अन्तर्गत ग्राहकले आफ्नो प्याकेज समाप्त भएपछि सेवा निरन्तर हुने वा बन्द हुने निर्णय आफैंले गर्न सक्नेछन्। टेलिकमका अनुसार यसको लागि ग्राहकले आफ्नो मोबाइलबाट ८४४४३ डायल गरी ४ अङ्क छनोट गरेपछि क्रमशः १, २, ३ डायल गरेर सुविधा सक्रिय, निष्क्रिय गर्न वा अवस्था थाहा पाउन सक्नेछन्।
यदि ग्राहकले ‘पे–जी’ सुविधा निष्क्रिय गरेमा प्याकेज सकिएपछि मुख्य ब्यालेन्सबाट डेटा खर्च हुने छैन। सुविधा सक्रिय गराएमा प्याकेज सकिएपनि डेटा सेवा निरन्तर चल्नेछ। प्याकेज नलिइ डेटा चलाउन चाहने ग्राहकले भने सुविधा सधैं सक्रिय राख्नुपर्ने टेलिकमले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधारात्मक कार्ययोजनामा पनि यस सुविधामा ‘निष्क्रिय गर्ने विकल्प’ उपलब्ध गराउन उल्लेख गरिएको छ। टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धर ले मन्त्रालयको निर्देशन अनुसार यस विकल्प उपलब्ध गराइएको जानकारी दिए।
भविष्यमा नेपाल टेलिकमको मोबाइल ‘एप’ मार्फत पनि ग्राहकले यो सेवा सक्रिय वा निष्क्रिय गर्न सक्ने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
त्यसैगरी, डेटा प्याकेजको ९० प्रतिशत खपत भएपछि प्रिपेड तथा पोस्टपेड ग्राहकलाई एसएमएसबाट जानकारी दिइने व्यवस्था पनि सुरु गरिएको छ। यसअघि यो जानकारी ८० प्रतिशत खपत वा प्याकेज समाप्ति भएपछि मात्र प्रदान गरिन्थ्यो।
टेलिकमले ग्राहकको मागअनुसार विभिन्न प्रकारका डेटा प्याकेज उपलब्ध गराउँदै आएको र प्याकेज सकिएपनि सेवाको निरन्तरता वा बन्द गर्ने विकल्प ग्राहकमै राखेको बताएको छ।