बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अमेरिका–इरान युद्धविराम स्वागत र स्थायी शान्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड

बुधबार, चैत्र २५ २०८२

काठमाडौँ । अमेरिका र इरानबीच २ हप्ताका लागि गरिएको युद्धविराम सम्झौतालाई नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्वागत गर्दै यसलाई स्थायी शान्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सूचना र प्रविधिको युगमा कुनै सभ्यतालाई ‘ढुङ्गे युग’ मा फर्काउने धम्की दिनुलाई मानव सभ्यताको व्यङ्ग्य ठहर गरेका छन्। उनले संवेदनशील घडीमा कतिपय विश्वशासक मौन बस्नु लाजमर्दो रहेको र मानवता निरिह बनेको स्थिति पीडाजनक रहेको उल्लेख गरेका छन्।

महासचिव पोखरेलले युद्धको कठिन समयमा आफ्नो देशको पक्षमा निर्भयतापूर्वक उभिएका इरानी जनता र आफ्नै शासनको गलत नीतिविरुद्ध आवाज उठाउने अमेरिकी जनताले भविष्यप्रति आशा जगाएको बताएका छन्। “आफ्नै शासकको कमजोरी र गलत नीतिविरुद्ध आवाज उठाउने अमेरिकी जनताले पनि भविष्यप्रतिको आशा जगाएका छन्,” उनले लेखेका छन्।

अस्थायी युद्धविरामका लागि पहल गर्ने सबै पक्ष, विशेषगरी मध्यस्थतामा सक्रिय भूमिका खेलेको पाकिस्तानको नेतृत्वप्रति उनले सम्मान व्यक्त गरेका छन्। महासचिव पोखरेलले विश्व अर्थतन्त्रमा असर पार्ने यो युद्धले प्रभुत्व कायम गर्न खोज्ने पक्षलाई पनि पछि हट्न विवश बनाएको बताए।

उहाँले हिंसालाई मानवताको शत्रु भन्दै सबैलाई सामाजिक सञ्जालमार्फत शान्ति, संवाद र सहअस्तित्वको पक्षमा सशक्त आवाज उठाउन अपिल समेत गरेका छन्।