बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा व्यवस्था पालना गर्न मन्त्रालयको आग्रह

मंगलबार, चैत्र २४ २०८२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाहरू अनिवार्य रूपमा कार्यान्वयन गर्न सम्पूर्ण रोजगारदाताहरूलाई आग्रह गरेको छ।

सोमबार जारी विज्ञप्तिमा मन्त्रालयले कानुनविपरीत न्यूनतम पारिश्रमिक तथा अन्य सुविधाबाट श्रमिकलाई वञ्चित गराएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ। साथै सम्बन्धित सबै प्रतिष्ठान, संस्था र सरोकारवालाहरूलाई यी व्यवस्था स्वतःस्फूर्त रूपमा पालना गर्न आह्वान गरिएको छ।

श्रम ऐन, २०७४ को दफा १८ उपदफा (३) अनुसार तालिमका रूपमा काममा लगाइएका व्यक्तिहरूलाई समेत रोजगारदाताले न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष, बीमालगायत सामाजिक सुरक्षा सुविधा सुनिश्चित गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

मन्त्रालयका अनुसार विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिमी श्रमिकका रूपमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक–कर्मचारी तथा अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूबाट न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाएको भन्ने उजुरीहरू प्राप्त भएका छन्। यस विषयमा मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।