बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सातामा दुई दिन सार्वजनिक बिदा लागू, आजदेखि कार्यालय समय परिमार्जन

सोमबार, चैत्र २३ २०८२

काठमाडौं । नेपाल सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई राजपत्रमार्फत औपचारिक रूपमा लागू गरेको छ।

गृह मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार आजदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा कायम गरिएको छ। यससँगै अब सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा सातामा दुई दिन बिदा हुने व्यवस्था गरिएको छ।

नयाँ व्यवस्थाअनुसार कार्यालय समयसमेत परिवर्तन गरिएको छ। आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछन्।

त्यसैगरी, हिउँदयाम (कात्तिक १६ देखि माघ १५ गतेसम्म) मा भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम रहने राजपत्रमा उल्लेख गरिएको छ।

नेपाल आयल निगमले विगत केही समयदेखि सरकारलाई इन्धनको खपत कम गर्न सातामा दुई दिन सार्वजनिक बिदा दिन सिफारिश गर्दै आइरहेको थियो । सोही सिफारिश र अर्थतन्त्रमा परेको चौतर्फी दबाबलाई मूल्यांकन गर्दै सरकार यो निष्कर्षमा पुगेको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरले आगामी साताबाट सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा सुरु भएपछि मात्र इन्धनको खपतमा आउने वास्तविक कमीको मूल्यांकन गर्न सकिने बताएका छन् । ‘अहिले नै इन्धनको खपतमा ठ्याक्कै कति बचत हुन्छ भनेर भन्न सकिने अवस्था छैन । अब दुई दिन बिदा सुरु भएपछि हामी यसको तथ्यांक हेर्छौं र समीक्षा गर्छौं’, प्रवक्ता ठाकुरले भने । विश्वका कैयौँ विकसित देशहरूमा हप्तामा दुई दिन साप्ताहिक बिदा दिने प्रचलन सामान्य भए पनि नेपालको सन्दर्भमा भने यो सधैँ चुनौतीपूर्ण बन्दै आएको छ ।