काठमाडौं । गृहमन्त्रालयले मातहतका चार सहसचिव र तीन उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ।
चैत २२ गतेको निर्णयअनुसार मन्त्रालयले प्रकाश पौडेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ। त्यसैगरी, डा. डिजन भट्टराईलाई जिल्ला प्रशासन कार्यालय बैतडीको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी दिइएको छ भने खडानन्द अधिकारीलाई जाजरकोट प्रशासनमा पदस्थापन गरिएको छ।
कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुमन घुमिरेलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ। यस्तै, जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेललाई इलाममा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापालाई पर्सा सरुवा गरिएको छ भने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई संखुवासभाको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी तोकिएको छ।