काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ। उक्त बैठकमा तीन वटा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्। बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ।
त्यसैगरी, राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्नेछ। सो बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने सम्भावित कार्यक्रम पनि तय गरिएको छ।