काठमाडौँ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
यसअघि सर्वोच्च अदालतले उक्त रिटमा सरकारसँग कारण देखाउन आदेश जारी गरेको थियो। शुक्रबार नै लिखित जवाफ प्राप्त भइसकेकाले आज सुनुवाइ हुन लागेको हो।
जेन–जी आन्दोलनको बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता लेखक गृहमन्त्री थिए। आन्दोलनका क्रममा भएको दमनबारे गठित आयोगले दुवैजनालाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो।
सिफारिसका आधारमा पक्राउ पुर्जी जारी गरी चैत १४ गते दुवैजनालाई नियन्त्रणमा लिइएको थियो। अदालतबाट अनुमति नलिई प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरी उनीहरुलाई निवासबाटै नियन्त्रणमा लिएको र दुवैजनाका श्रीमतीहरूले चैत १५ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको जनाइएको छ।
उनीहरूको पक्षले भाग्न सक्ने वा प्रमाण नष्ट गर्न सक्ने अवस्था नभएको अवस्थामा मात्रै जरुरी पक्राउ पुर्जी जारी गर्नु पर्ने कानुनी व्यवस्थालाई उल्लंघन गरी नियन्त्रणमा लिएको तर्क राखेको छ।
सोमबार न्यायाधीश मेघराज पोखरेल को इजलासले ओली र लेखकको निवेदनमाथि सुनुवाइ गर्दै सरकारलाई पूर्वअवस्था र जरुरी पक्राउ पुर्जी जारी गर्ने कानुनी पूर्वाधारबारे सोधेको थियो। जवाफमा सरकारले पूर्वप्रधानमन्त्री वा पूर्वगृहमन्त्री भएको आधारमा तुरुन्त रिहा गर्न नसकिने जनाएको छ।
पक्राउ परेकै दिनदेखि ओली त्रिवि शिक्षण अस्पताल मा छन् भने लेखकलाई महाराजगञ्ज प्रहरी गण मा राखेर बयान लिइएको छ।