काठमाडौं । नेकपा एमाले का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको पहिलो बैठकमा दिएको विवादित अभिव्यक्तिपछि पार्टीभित्र तीव्र तरंग पैदा भएको छ।
संसद् बैठकमा बोल्दै थापाले नेपाली सेना, कर्मचारीतन्त्र तथा केही विदेशी निकायहरूसमेतलाई लक्षित गर्दै निर्वाचन परिणामप्रति गम्भीर शंका व्यक्त गरेका थिए। उनले जनताको अभिमतबाट आएको नतिजालाई समेत षड्यन्त्रको परिणामजस्तो देखिने अभिव्यक्ति दिएका थिए, जसप्रति पार्टीकै शीर्ष नेताहरूले आपत्ति जनाएका छन्।
यसैबीच, एमालेले आज दिउँसो पार्टी कार्यालय च्यासलमा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएको छ। बैठकमा थापाको अभिव्यक्ति र त्यसबाट उत्पन्न परिस्थितिबारे गम्भीर छलफल हुने जनाइएको छ।
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत थापाको भनाइ पार्टीको स्थापित नीति र मान्यताविपरीत रहेको उल्लेख गर्दै सचिवालय बैठकमा यसबारे आवश्यक निर्णय गरिने बताएका छन्।
यसअघि उपमहासचिव योगेश भट्टराईले पनि थापाको अभिव्यक्तिको खण्डन गर्दै नेपाली सेना, न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको सम्मान र विश्वास यथावत् रहने स्पष्ट पारेका थिए।
त्यस्तै, एमाले नेता सुरेन्द्र पाण्डे ले पनि अप्रत्यक्ष रूपमा प्रतिक्रिया दिँदै सबै दोष अरूमाथि थोपर्ने राजनीति पुरानो भइसकेको टिप्पणी गरेका छन्। उनले वर्तमान राजनीतिक अवस्था सिर्जना हुनुमा एमाले स्वयं पनि जिम्मेवार रहेको स्वीकार गर्नुपर्ने धारणा राखेका छन्।
बुधबार मात्रै संसदीय दलको नेता चयन भएका थापाले संसद्मा दिएको करिब ६ मिनेटको सम्बोधनमा राष्ट्रिय स्वतन्त्र पार्टी को जितमा विभिन्न निकायहरूको भूमिका रहेको दाबी गरेका थिए। साथै अदृश्य विदेशी शक्तिको समेत संलग्नता रहेको उनको निष्कर्ष थियो।
तर एमालेभित्र अहिलेसम्म आधिकारिक रूपमा निर्वाचन निष्पक्ष र शान्तिपूर्ण भएको धारणा रहँदै आएको अवस्थामा दलका नेताबाटै फरक अभिव्यक्ति आउनु विवादको मुख्य कारण बनेको छ।
पार्टीभित्र निर्वाचन परिणामको औपचारिक समीक्षा हुन बाँकी रहेकाले अब बस्ने सचिवालय बैठकले यस विषयमा स्पष्ट धारणा तय गर्ने अपेक्षा गरिएको छ।