बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बनाउन १८ सदस्यीय कार्यदल गठन

बिहिबार, चैत्र १९ २०८२

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ तयार गर्न १८ सदस्यीय कार्यदल गठन गरेको छ।

प्राधिकरणको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन भई काम सुरु गरिएको प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतले जानकारी दिइन्। कार्यदलमा विपद्सम्बन्धी सङ्घीय मन्त्रालय, विभाग, प्राधिकरण तथा तीनवटै सुरक्षा निकायका प्रतिनिधि सहभागी छन्।

सम्भावित मनसुनजन्य विपद्को प्रभावकारी सामना गर्दै धनजनको क्षति न्यूनीकरण गर्न संघ, प्रदेश र स्थानीय तहदेखि सुरक्षा निकाय तथा साझेदार संस्थासम्म सबै सरोकारवालालाई योजनाबद्ध रूपमा परिचालन गर्ने उद्देश्यले कार्ययोजना तयार गर्न लागिएको हो।

कार्यदलका सदस्य उपसचिव रामकुमार केसीका अनुसार सबै प्रतिनिधिलाई आवश्यक सुझाव पेश गर्न एक हप्ताको समय दिइएको छ। सुझाव प्राप्त भएपछि अर्को हप्ता कार्यदलको बैठक बस्ने तय गरिएको छ।

यसअघि गृहमन्त्री सुदन गुरुङले प्राधिकरणमा आयोजित कार्यक्रममा समयमै प्रतिकार्य योजना तयार गरी विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए।