काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ। यस वर्ष परीक्षालाई थप व्यवस्थित, पारदर्शी र नतिजा छिटो सार्वजनिक गर्ने लक्ष्यसहित नयाँ निर्देशिका लागू गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहान ८ बजेदेखि देशभरका तोकिएका केन्द्रबाट परीक्षा सञ्चालन गरेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विगतझैँ यस वर्ष पनि एकै समयमा परीक्षा सञ्चालन गरिएको छ।
यस वर्षको एसइई परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। सहभागीमध्ये छात्राको सङ्ख्या बढी रहेको छ। जापानस्थित एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थी सहभागी भएका छन्। देशभर एक हजार ९६६ परीक्षा केन्द्र तोकिएको छ भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी सहभागी छन्।
परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा प्रहरी परिचालन गरिएको छ। साथै केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा अन्य कर्मचारीको आवश्यक व्यवस्था गरिएको बोर्डले जनाएको छ।
यस वर्षको मुख्य विशेषता भनेको उत्तरपुस्तिका परीक्षण प्रणालीमा गरिएको सुधार हो। परीक्षा सकिएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण सम्पन्न गर्ने योजना बनाइएको छ। परीक्षणपछि मार्कस्लिप तयार गरी सुरक्षित रूपमा सम्बन्धित निकायमा पठाउने व्यवस्था गरिएको छ।
उत्तरपुस्तिका परीक्षणलाई पारदर्शी बनाउन सिसिटिभी जडान भएका कक्षमा परीक्षण गरिने, परीक्षकले केन्द्र बाहिर उत्तरपुस्तिका लैजान नपाउने, मोबाइलजस्ता उपकरण प्रयोग गर्न नपाउने लगायतका कडा प्रबन्ध गरिएको छ। अनियमितता वा लापरवाही पाइएमा कारबाही गर्ने व्यवस्था पनि गरिएको छ।
यस वर्ष सामूहिक अनुगमनमा पनि रोक लगाइएको छ। अनुगमनका क्रममा परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।
आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। निर्धारित तालिकाअनुसार चैत २९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ।