काठमाडौं । २०१० सालमा स्थापना भएको काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–६ स्थित प्रभा माध्यमिक विद्यालयमा आयोजित अभिभावक भेलाबाट गोकुल गौतम विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
काभ्रे कोशिपारी क्षेत्रकै अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित उक्त विद्यालयको नेतृत्व सम्हाल्दै नवनिर्वाचित अध्यक्ष गौतमले विद्यालयलाई जिल्लाकै एक उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्ने उक्त भेलामा प्रतिबद्धता व्यक्त गरे।
शालिन, सामाजिक कार्यमा निरन्तर खटिरहेका गौतमले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा समग्र सुधारका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहने उल्लेख गरे। साथै, पारदर्शी नेतृत्व, साझा प्रयास र दीर्घकालीन योजनामार्फत विद्यालयलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य रहेको पनि बताए।
अध्यक्षमा सर्वसम्मत चयन भएपछि गौतमले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण अभिभावक, शिक्षक, सरोकारवाला तथा स्थानीयवासीप्रति हार्दिक आभार व्यक्त गरेका थिए।