भोजपुर । भोजपुर सदरमुकामदेखि कोटडाँडा हुँदै पिखुवा खोलाको किनारमा रहेको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ। हरियालीले ढाकिएका डाँडाकाँडाको काखैभरि सर्पझैँ बाङ्गोटिङ्गो रूपमा तल झर्ने यस सडकको दृश्यले जो कोहीलाई सहजै मोहित बनाउँछ।
भोजपुर नगरपालिका–१२ अन्तर्गत पर्ने करिब १३ किलोमिटर लामो यो सडक उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको हो। यसले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्दै स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। पहिले घण्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेर अहिले सवारीसाधन सहजै सञ्चालन हुन थालेपछि दैनिक जीवन सरल बनेको स्थानीयवासी बताउँछन्।
यो सडकले भोजपुरलाई दक्षिणी भेगसँग जोड्नुका साथै यसको नागबेली बनावट नै प्रमुख विशेषता बनेको छ। माथिबाट हेर्दा लामो सर्पझैँ देखिने घुमाउरो संरचनाले विशेष गरी फोटोग्राफी र भिडियो बनाउनेहरूको ध्यान खिचेको छ। सामाजिक सञ्जालमा यहाँका दृश्यहरू व्यापक रूपमा फैलिन थालेपछि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको स्थानीयको भनाइ छ।
सडक वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाको दृश्यले यात्रालाई अझ रमणीय बनाउँछ। बिहानको कुहिरो र साँझको सुनौलो घामले सडकलाई झन आकर्षक बनाउने भएकाले पर्यटकहरू समय मिलाएर दृश्यावलोकन गर्न रुचाउँछन्।
यस सडकको निर्माणसँगै कृषि क्षेत्रमा पनि सकारात्मक प्रभाव परेको छ। आलु, मकै, अदुवा तथा विभिन्न फलफूलजस्ता उत्पादन बजारसम्म पुर्याउन सहज भएको छ, जसले किसानलाई प्रत्यक्ष लाभ दिएको छ। साथै, यातायात पहुँच बढेसँगै व्यापार–व्यवसाय पनि विस्तार हुँदै गएको छ।
स्थानीयले सडक छेउमा विश्रामस्थल, भ्यू प्वाइन्ट र सूचना बोर्ड जस्ता पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। यस्ता संरचना थपिँदै प्रभावकारी प्रचार–प्रसार गर्न सकिएमा भोजपुर–बेहेरे सडक केवल यातायात मार्गमा सीमित नरही देशकै एक आकर्षक प्राकृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने विश्वास गरिएको छ ।