काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारलाई प्रतिशोधपूर्ण कार्य नगर्न चेतावनी दिँदै पत्रकारहरूको निगरानी भूमिका निरन्तर रहने स्पष्ट पारिन् ।
सोमवार महासंघको स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले सरकारका क्रियाकलापमा महासंघले सधैं निगरानी राख्ने बताइन्। उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने प्रयास भएमा महासंघ नागरिक अगुवा संस्थाको हैसियतले सशक्त रूपमा उभिने पनि स्पष्ट पारिन् ।
उनले नागरिक अगुवा संस्थाहरूको एलायन्स ‘पाफर्ड’ र नेपाल बार एसोसिएसनसँगको सहकार्यमा महासंघ अघि बढ्ने जानकारी दिइन् । कतिपय नयाँ कानूनहरू बन्ने क्रममा भएकाले कहिलेकाहीँ संविधानले दिएको अधिकार प्रयोगमा अवरोध आउन सक्ने भन्दै उनले सरकारलाई सरोकारवालासँग छलफल गरेर मात्र कानून ल्याउन आग्रह गरिन् ।
अध्यक्ष शर्माले पत्रकारको श्रम अधिकारको संरक्षणमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै हाल धेरै मिडिया हाउसहरू आर्थिक संकटमा रहेको र राज्यले मिडिया क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, “अहिले निर्वाचित सरकारले संविधान र कानूनसम्मत भन्दा पनि प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगरोस्। पत्रकार जहिले पनि वाचडगको रूपमा रहन्छन्। सामाजिक सञ्जालको प्रयोगले मिडियाको विश्वसनीयता घटाउँदैछ, जिम्मेवार पत्रकारिताका लागि हामीले लामो लडाई लड्नुपर्नेछ।”
महासंघले देशभरका पत्रकारहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै श्रम अधिकार र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आफ्नो अभियान निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।