काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।
शनिबार बिहान पक्राउ परेका ओलीलाई अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा राखिएको छ, जुन विशेषगरी मिर्गौला प्रत्यारोपण गरिएका बिरामीका लागि छुट्याइएको बेड हो।
यसअघि मृगौला प्रत्यारोपणपछि पनि ओलीलाई सोही बेडमा भर्ना गरेर उपचार भएको थियो । अस्पताल स्रोतका अनुसार प्रारम्भिक रिपोर्टमा ‘चेष्ट पेन र पाल्पिटेशन’ भएको रिपोर्ट आएको छ । ओलीलाई इसीजी मनिटर जोडेर त्यसमा मुटुको चालको थप अनुगमन भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार चिकित्सकको सल्लाहअनुसार ओलीलाई अस्पताल भर्ना गरिएको हो।
ओलीलाई आज बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा एकछिन राखेर स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।