काठमाडाैं । देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेकाले अधिकांश भू–भागमा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार गण्डकी र बागमती प्रदेशका केही स्थानसहित पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हाल वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका केही स्थान तथा देशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रमा बदली रहनेछ। ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसमविद्हरूले विशेषगरी हिमाली र पहाडी क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन्।