काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउ प्रतिशोध नभई न्यायिक प्रक्रियाको सुरुआत भएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले “कानुनभन्दा माथि कोही पनि छैन” भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइएको कदमलाई विधिसम्मत कार्यको रूपमा प्रस्तुत गरे। “यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो,” उनले उल्लेख गरे।
गत भदौ २३ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेपछि दुवै नेतामाथि अनुसन्धान अघि बढाइएको हो। सो आयोगको नेतृत्व पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा प्रहरीले आज बिहानै ओली र लेखकलाई पक्राउ गरेको हो।
आयोगले दुवै नेतामाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो। मन्त्री गुरुङले यस कदमले देशलाई नयाँ दिशातर्फ अघि बढाउने विश्वाससमेत व्यक्त गरेका छन् ।