बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

गृहमन्त्री अर्यालको १९१ दिन: शान्ति स्थापनादेखि सफल निर्वाचनसम्म

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौँ । ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा गर्दै गृहमन्त्री पदबाट बिदा लिएका छन्। जटिल र अस्थिर अवस्थाबाट देशलाई सामान्य अवस्थामा फर्काउँदै शान्ति, सुशासन र सफल निर्वाचन सम्पन्न गरेको उनले बताए

जेनजी आन्दोलनपछि देशमा अन्योल, त्रास र अस्थिरता बढेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको उनले उल्लेख गरे। राज्य संयन्त्र कमजोर बनेको, नागरिकमा असुरक्षा बढेको र कानुनी शासन कमजोर भएको सन्दर्भमा पहिलो प्राथमिकता अवस्था सामान्यीकरण र कानुनी राज्य पुनःस्थापना रहेको उनको भनाइ थियो।

सरकारले सुशासन सुधार, सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाउने तथा भ्रष्टाचार नियन्त्रणमा ध्यान दिएको उनले बताए। आन्दोलनपछिको मुख्य लक्ष्य आवधिक निर्वाचन सम्पन्न गर्नु रहेको र सुरक्षा चुनौतीबीच समयमै शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरिएको उनले दाबी गरे।

कार्यकालका क्रममा कैदी फरार, हतियार लुटपाट र राजनीतिक दलप्रति जनविश्वास घटेको अवस्थाबीच सुरक्षालाई सुदृढ बनाउँदै निर्वाचन सम्पन्न गर्नु महत्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरे। “निर्वाचन हुने वा नहुने भन्ने आशङ्काबीच पनि रक्तपातविहीन रूपमा निर्वाचन सम्पन्न गर्यौँ,” उनले भने।

आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरिएको र उनीहरूको सम्मानमा स्मारक निर्माण तथा परिवारलाई राहत, घाइतेलाई परिचयपत्र र मासिक भत्ता दिने व्यवस्था गरिएको उनले जानकारी दिए।

यस अवधिमा ४६५ भन्दा बढी सुरक्षा संरचना पुनर्निर्माण गरिएको, सुरक्षाकर्मीको मनोबल वृद्धि गरिएको र नागरिक–सुरक्षा निकायबीचको सम्बन्ध सुधारिएको उनको भनाइ थियो। साथै, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत ल्याइएको तथा नागरिकता नियमावलीमार्फत करिब तीन हजार नागरिकलाई अधिकार दिलाइएको पनि उनले उल्लेख गरे।

निर्वाचन व्यवस्थापनका लागि केन्द्र, प्रदेश र जिल्लाबीच समन्वय सुदृढ पार्दै प्रविधिको प्रयोग बढाइएको उनले बताए। ६५ लाखभन्दा बढी एसएमएसमार्फत अर्ली वार्निङ प्रणाली प्रयोग गरिएको र यसले जोखिम न्यूनीकरणमा सहयोग पुगेको उनको दाबी थियो।

अर्यालले आफ्नो कार्यकालमा निष्पक्षता, समन्वय र सामूहिक नेतृत्वको संस्कार विकास गरिएको बताउँदै आगामी नेतृत्वका लागि बलियो आधार तयार भएको विश्वास व्यक्त गरे। साथै, जेनजी पुस्तालाई राजनीतिक, सामाजिक र आर्थिक मुख्यधारमा समेट्नुपर्नेमा उनले जोड दिए।

उनी २०८२ भदौ ३० गते गृहमन्त्री नियुक्त भएक थिए। आफ्नो कार्यकालमा विपद् व्यवस्थापन, मिटरब्याजपीडितको समस्या समाधान र नागरिकता वितरणजस्ता जनमुखी कामहरू अघि बढाइएको पनि उनले बताए।