काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। यस अवसरमा काठमाडौं उपत्यकासहित विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ।
उपत्यकाका प्रमुख मन्दिरहरू भद्रकाली मन्दिर, मैतीदेवी मन्दिर, नक्साल भगवती मन्दिर, शोभा भगवती मन्दिर र गुह्येश्वरी मन्दिर मा पूजाआजा तथा दर्शनका लागि श्रद्धालुहरूको घुइँचो देखिएको छ।
त्यस्तै उपत्यका बाहिर मनकामना मन्दिर, विन्ध्यवासिनी मन्दिर, बागलुङ कालिका मन्दिर र पाथीभरा मन्दिर लगायतका प्रसिद्ध शक्तिपीठहरूमा पनि दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति रहेको छ।
धार्मिक विश्वासअनुसार यस दिन देवीको उपासना गर्नाले सुख, शान्ति र मनोकामना पूरा हुने जनविश्वास छ। वर्षमा दुई पटक मनाइने दशैँमध्ये चैत्रमा पर्ने यो पर्वलाई ‘सानो दशैँ’ पनि भनिन्छ। असोजको बडादशैँ जस्तै आज पनि शक्तिस्वरूपा भगवतीको विशेष पूजा गरिन्छ।
चैते दशैँको भोलिपल्ट अर्थात् चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ। भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा भोलि देशभरका राम मन्दिरहरूमा विशेष पूजा तथा उत्सव आयोजना गरिनेछ।