बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

बिहिबार, चैत्र १२ २०८२

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ। शपथ समारोहका लागि सम्पूर्ण तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सदस्यहरूलाई शपथ गराउने कार्यक्रम तय गरिएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले बुधबार केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ। सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार ४७ जना सदस्यले नेपाली बाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमा १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।

नेपालको संविधानको धारा ९९ र धारा ९१ को उपधारा (५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ लिने व्यवस्था रहेको छ।

सचिवालयले सदस्यहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। साथै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको छ।

बहुउद्देश्यीय हलमा सिट व्यवस्थापन, रोष्ट्रम, सभामुख आसन तथा सचिवालयका पदाधिकारी बस्ने स्थानको तयारी सम्पन्न भइसकेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलहरूले उल्लेख्य सिट प्राप्त गरेका थिए, जसअनुसार नयाँ प्रतिनिधिसभाको औपचारिक प्रक्रिया आजको शपथसँगै अघि बढ्नेछ।