महोत्तरी । चैती छठ आजदेखि विधिवत रूपमा सुरु भएको छ। मिथिलाञ्चलअन्तर्गत पर्ने नेपाल र भारतका विभिन्न जिल्लामा चार दिनसम्म मनाइने यो पर्व धार्मिक विधिपूर्वक आरम्भ भएको हो।
तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायतका क्षेत्रमा यो पर्व श्रद्धा र भव्यताका साथ मनाइँदैछ। जलेश्वर, मटिहानी, गौशाला, बर्दिबासजस्ता स्थानका पोखरी, नदी र जलाशयमा भक्तजनको भीड लाग्ने गरेको छ।
सूर्य उपासनामा आधारित यो पर्वको मुख्य विशेषता अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्नु हो। पारिवारिक सुख, शान्ति, समृद्धि, स्वास्थ्य र मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित श्रद्धालुहरूले यो पर्व मनाउने गर्छन्।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ‘नहा खा’ का रूपमा आज व्रतीहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन्। दोस्रो दिन ‘खर्ना’मा दिनभर उपवास बसेर साँझ पूजा गरी प्रसाद ग्रहण गरिन्छ। तेस्रो दिन (षष्ठी)मा विभिन्न परिकार, फलफूल र पूजा सामग्री लिएर छठघाटमा पुगी साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै पर्व सम्पन्न हुन्छ।
धार्मिक मात्र नभई सामाजिक सद्भावको प्रतीकका रूपमा समेत विकसित यो पर्व हिन्दूसँगै मुस्लिम समुदायले पनि संयुक्त रूपमा मनाउने परम्परा रहेको छ।