काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग र समान पहुँच सुनिश्चित गर्न सबै सरोकारवाला निकायलाई सहकार्य र समन्वयका साथ अघि बढ्न आह्वान गरेका छन् ।
विश्व पानी दिवस २०२६का अवसरमा शुभकामना सन्देश दिँदै उनले खानेपानी व्यवस्थापनका हरेक तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले पानीलाई जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधारका रूपमा व्याख्या गर्दै मानव सभ्यताको विकाससँगै यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनका अनुसार, प्राचीन सभ्यताहरू नदी किनारमा विकसित भए पनि अहिलेको अवस्थामा पानी र प्रकृतिको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।
उनले भूमिगत जलस्रोतलाई महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा व्याख्या गर्दै यसले पारिस्थितिकीय सन्तुलन कायम गर्न, नदीको बहाव व्यवस्थापन गर्न, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र सुरक्षित खानेपानी उपलब्ध गराउन सहयोग पुर्याउने बताए। तर, बढ्दो सहरीकरण, भौतिक पूर्वाधार विस्तार, प्रदूषण र जलवायु परिवर्तनका कारण जलस्रोत सुक्दै गएकोमा उनले चिन्ता व्यक्त गरे।
सन्देशमा भूमिगत जलस्रोतको अत्यधिक दोहन, पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध, तथा अव्यवस्थित बस्ती र औद्योगिकीकरणका कारण पानी प्रदूषित भइरहेको उल्लेख गरिएको छ।
भविष्यमा सम्भावित जलसङ्कटलाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले जलाधार क्षेत्रको संरक्षण, आहाल, पोखरी र तालतलैयाको निर्माणजस्ता परम्परागत विधिको प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्वभर पानी दिवस मनाइँदै आएको छ। नेपालमा यस वर्ष ‘लैङ्गिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’ भन्ने सन्देशका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन्।