काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण खोलाको बहाव बढेपछि बिपी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ।
रोशी क्षेत्रअन्तर्गत चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुङ्गामा बिहान करिब ३ः३० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख शुनिल धाँजूले बताएका छन्।
गत वर्ष बाढीपहिरोले क्षति पुर्याएपछि उक्त क्षेत्रमा खोलामै अस्थायी सडक बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो। हाल पानीको बहाव बढेकाले बहाव घटेपछि मात्र सडक पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको उनले बताए।
सडक विभाग र सुरक्षाकर्मीको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको पनि जनाइएको छ।
यसैबीच राजमार्ग अवरुद्ध भएपछि ट्राफिक प्रहरीले सवारीसाधन ‘होल्ड’ गरेको छ। धुलिखेलस्थित काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटार क्षेत्रमा सवारीसाधन रोकेर राखिएको ट्राफिक प्रहरीले जनाएको छ।