बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

ढोरपाटनमा भारी हिमपात, जनजीवन प्रभावित

शनिबार, चैत्र ७ २०८२

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको स्थानीयले बताएका छन्। शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातका कारण ढोरपाटन उपत्यका सेताम्य हिउँले ढाकिएको उनीहरूको भनाइ छ।

ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर विकले हिमपातका कारण जनजीवन प्रभावित बनेको बताए। उनका अनुसार हिमपातले गर्दा वस्तुभाउलाई घाँस–दाना हाल्नसमेत कठिनाइ भएको छ।

विकले केही दिनअघिदेखि सामान्य वर्षा भइरहेको उल्लेख गर्दै अहिले निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या भएको बताए। आलु रोप्ने तयारीमा रहेका स्थानीय किसानसमेत यसबाट प्रभावित बनेको उनको भनाइ छ।

“चैत महिनामा कहिलेकाहीँ मात्रै हिउँ पर्थ्यो, तर यसपालि गर्मी बढ्ने बेला हिमपात भयो,” विकले भने, “यतिबेला आलु रोप्ने चटारो थियो, तर हिउँले काम प्रभावित बनायो।”

यस्तै, स्थानीय तुलराम पुनले हिमपातका कारण अत्यधिक चिसो बढेको बताए। उनले रातिदेखि परेको बाक्लो हिमपातका कारण बाहिर निस्केर हिँडडुल गर्न र पशुचौपायालाई घाँस–दाना खुवाउनसमेत समस्या भएको बताए।