बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

चैत ५ गते समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र, त्यसपछि राष्ट्रपतिलाई अन्तिम मतपरिणाम

बुधबार, चैत्र ४ २०८२

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई चैत ५ गते निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गर्ने भएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आयोगले सांसदलाई निर्वाचित प्रमाणपत्र वितरण गर्ने तयारी सुरु गरेको छ। सोमबार ११० सांसदको सूची पनि सार्वजनिक गरिएको थियो।

सूचीअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिष्ट पार्टीका ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४–४ जना सांसद निर्वाचित भएका छन्।

सांसदहरूलाई प्रमाणपत्र वितरण भइसकेपछि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने जनाएको छ।

आयोग स्रोतका अनुसार प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) र समानुपातिक निर्वाचन प्रणालीका लागि दुई छुट्टाछुट्टै कम्प्युटर प्रणालीमा काम भइरहेको थियो । प्रत्यक्षतर्फको नतिजा यसअघि नै आइसकेर १६५ जना सांसदले आफ्नो निर्वाचन क्षेत्रबाटै प्रमाणपत्रसमेत बुझिसकेका छन् । समानुपातिकतर्फको अन्तिम नतिजा पनि घोषणा भइसकेकाले दुवै प्रतिवेदनलाई एकीकृत गरी प्रिन्ट गरेर राष्ट्रपतिलाई बुझाइनेछ ।

प्रतिवेदन लिएर चैत ५ गते कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयुक्तहरू जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा र आयोगका सचिव कृष्णबहादुर राउतसहितको उच्चस्तरीय टोली शीतलनिवास जाने तय भइसकेको छ । ‘हामीले गर्ने काम सकेपछि सरकार गठनको काम उहाँहरूको जिम्मेवारी हो । हाम्रो काम सकिन्छ’, सहप्रवक्ता जिसीले बताए ।