बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

प्रधानमन्त्री कार्कीद्वारा एमाले नेतृत्वलाई धन्यवाद

बुधबार, चैत्र ४ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गरेको भन्दै नेकपा (एमाले) नेतृत्वलाई बालुवाटारमा आमन्त्रण गरी धन्यवाद व्यक्त गरेकी छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार एमालेका नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न एमालेले खेलेको भूमिका सराहना गर्दै धन्यवाद व्यक्त गरेकी हुन्। उनले मुलुकको वर्तमान जटिल परिस्थितिमा शान्तिपूर्ण निकासको एकमात्र विकल्प निर्वाचन भएको उल्लेख गर्दै राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गरेकोमा एमालेको सक्रिय सहभागिताको प्रशंसा गरिन् ।

साथै, उहाँले निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै एकपटकको जनादेशबाट विचलित नहुन आग्रह गरिन्। एकैपटकको जनमतले पार्टीहरूको स्थायी हैसियत निर्धारण नगर्ने बताउँदै उनले अटल बिहारी वाजपेयी र इन्दिरा गान्धीका राजनीतिक उतारचढाव उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

एमाले नेताहरूले पनि शान्तिपूर्ण र सर्वस्वीकार्य ढंगले निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की तथा उनी नेतृत्वको सरकारलाई बधाई दिएका छन्। उनीहरूले प्रशासन निष्पक्ष रहेको र यसपटकको चुनाव विगतको तुलनामा बढी स्वस्थ, शान्तिपूर्ण तथा कम खर्चिलो भएको अनुभवसमेत साझा गरेका छन्।