बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

महिलाको क्यान्सर परीक्षणका लागि काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

मंगलबार, चैत्र ३ २०८२

काठमाडौँ । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिका र वीर अस्पताल बीच सहकार्य सम्झौता भएको छ।

सोमबार महानगरको स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक दिलीप शर्मा बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। उक्त कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल तथा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ को पनि उपस्थिति रहेको थियो।

कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरका कारण धेरै महिलाको अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै नियमित परीक्षण नै बच्ने प्रमुख उपाय भएको बताइन्। अस्पतालका निर्देशक डा. शर्माले पनि लक्षण नदेखिए पनि समयमै स्क्रिनिङ गर्नुपर्नेमा जोड दिँदै ढिलाइ गर्दा रोग जटिल हुने चेतावनी दिए ।

स्वास्थ्य विभाग प्रमुख केसीका अनुसार महानगरभित्रका ३० देखि ६० वर्ष उमेर समूहका महिला, गत वर्ष परीक्षणबाट छुट भएका तथा पोजेटिभ देखिएका महिलालाई प्राथमिकतामा राखी परीक्षण र प्रारम्भिक उपचार गरिनेछ।

उनका अनुसार चैत १६ गतेदेखि सुरु हुने परीक्षण कार्यक्रममा दैनिक १०० देखि १२० जनासम्मको परीक्षण गरिनेछ। नेपालमा महिलामा सबैभन्दा बढी देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ।