काठमाडौं । जेन–जी अभियानका अगुवा रक्षा बम ले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताएकी छन् ।
आइतबार माईतीघर मण्डलामा उनले सरकार गठनअघि नै नेपाली जनताले त्यस्तो नियति फेरि भोग्न नपर्ने प्रतिबद्धता गर्नुपर्ने जिकिर गरिन् ।
उनले अब बन्ने सरकारले शपथ ग्रहणअघि नै जेन–जी पुस्तासँग संकल्प गर्नुपर्ने बताउँदै राज्य शक्तिशाली भए पनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने धारणा राखिन्।
बमले सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गर्दै जनताका तर्फबाट खबरदारीपूर्ण समर्थन रहने बताइन्।
उनले भनिन्, “अब बन्ने सरकारले भदौ २३ र २४ को नियति फेरि नेपाली जनताले भोग्नु नपर्ने ग्यारेन्टी दिनुपर्छ। शपथ लिनुअघि नै यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता गर्नुपर्छ। जतिसुकै शक्तिशाली सरकार भए पनि जनताका छोराछोरीमाथि दमन गर्न पाइँदैन भन्ने स्पष्ट सन्देश दिनुपर्छ।”
समयक्रमसँगै अन्य विषय परिवर्तन हुन सक्ने भए पनि नागरिकको सुरक्षा सुनिश्चित गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो।