बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

पश्चिमबाट सुरु भएको वर्षा पूर्वतर्फ सर्दै, केही दिन बदली रहने पूर्वानुमान

आइतबार, चैत्र १ २०८२

काठमाडौँ । नेपालका पश्चिमी क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको हो।

विभागका सूचना अधिकारी दिनकर कायस्थ ले डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची र मनाङ लगायत क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको जानकारी दिए। वर्षा गराउने प्रणाली हाल चितवन सम्म आइपुगेको उनले बताए ।

विभागको मौसम पूर्वानुमान महाशाखा का अनुसार पछिल्लो एक घण्टामा गुल्मीमा १७ मिलिमिटर र तनहुँमा ११ मिलिमिटर वर्षा मापन गरिएको छ। अहिले पनि ती क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले मधेस प्रदेश, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश मा सामान्यतया बदली रहेको छ भने कोशी प्रदेश र गण्डकी प्रदेश मा आंशिक बदली रहेको विभागले जनाएको छ।

तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको पनि विभागले जनाएको छ। विभागले आज जारी गरेको मौसम बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बाग्मती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने र बाँकी स्थानमा आंशिक बदली रहने उल्लेख गरिएको छ।

हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र थोरै स्थानमा हिमपातको सम्भावना रहेको सूचना अधिकारी कायस्थले बताउनुभयो। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ।

मौसम विभागका अनुसार आगामी केही दिनसम्म देशभर बदली रहने सम्भावना रहेको छ।