साउन १९, एजेन्सी । अनलाइनमार्फत् आप्रवासी विरोधी घोषणापत्र सार्वजनिक गरेको केही घण्टापछि अमेरिकामा एक श्वेत व्यक्तिले शनिबार एल पासो वालमार्टमा अन्धाधुन्ध गोली प्रहार गर्दा २० जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । घटनाको संलग्न भएको आशंकामा संदिग्धलाई पक्राउ गरिएको छ जसको पहिचान २१ वर्षे प्याट्रिक क्रुसिएसको रुपमा गरिएको छ ।
सिसिटिभी फुटेजमा देखिए अनुसार क्रुसिएस एके–४७ एसल्ट राइफलसहित सिएलो भिस्ता मल वालमार्टको अगाडिको इन्ट्रान्सबाट प्रवेश गरिरहेको देख्न सकिन्छ । आवाज कम गर्ने हेडफोन र कार्गो पाइन्ट लगाएका बन्दुकधारीले सुरुमा स्टोर बाहिरको पार्किङ लटमा गोलीबारी गरे । त्यतिबेला वालमार्ट बाहिर स्थानीयले पानी बेचेर पैसा संकलन गरिरहेका थिए ।
त्यहाँ बालबालिका र वयस्कको पनि उपस्थिती थियो । एक प्रत्यक्षदर्शीका अनुसार त्यसपछि उनी निकै शान्त र आत्मविश्वासी भएर अगाडिको ढोकाबाट प्रवेश गरे । उनले भने, ‘उनलाई हेर्दा यस्तो लाग्थ्यो कि उनी कुनै मिसनमा थिए ।’
२० मिनेटको उक्त नरसंहार अमेरिकाको इतिहासको आठौं भयानक घटना हो । एक पत्रकार सम्मेलनमा एल पासो पुलिसका चिफ ग्रेग एलनले आरोपी २१ वर्षे ठिटो भएको पुष्टि गरे तर उनको नाम भने बताउन मानेनन् ।
अमेरिकामा अर्को ठूलो गोलीबारी, २०को मृत्यु
ग्रेगले आरोपीद्वार लिखित घोषणापत्र आफूहरुसँग भएको र त्यो ‘हेट क्राइम’ सँग सम्बन्धित हुनसक्ने बताएको छ । उक्त घोषणापत्र घटना हुनु केही घण्टाअघि सोसल मिडियामा सेयर गरिएको थियो जसमा क्रुसिएसले ‘टेक्ससमा स्पेनिस भाषा बोल्नेहरुको अतिक्रमण’ का कारण गोलीबारीको मुख्य उद्देश्य बताएका छन् ।
क्रुसिएसको घर घटनास्थलबाट गाडी चढेर जाँदा ९ घण्टा टाढा छ । यहाँ स्पेनिस भाषा बोल्नेहरुको जनसंख्या धेरै छ । मेक्सिकोका राष्ट्रपति एन्द्रोस म्यानुएल लोपेज ओब्रादरले आफ्ना तीन नागरिकको हत्या भएको र ६ जना घाइते भएको बताएका छन् । द सिएलो भिस्टा मल अमेरिका–मेक्सिको सीमामा रहेका दुबै देशका नागरिकको चर्चित सपिङ गन्तव्य हो ।
‘अब म धेरै कुर्न सक्दिनँ,’ क्रुसिएसले पोष्ट गरिएको घोषणापत्रमा लेखिएको छ । ‘मलाई राम्रोसँग थाहा छ, मिडियाले मलाई गलत तरिकाले चित्रित गर्न खोज्नेछन् तर तिमीहरु सबैलाई सत्यता थाहा हुनेछ । सायद आज म मर्नेछु,’ क्रुसिएसले लेखेका छन् । बन्दुकधारीले पहिलो गोली चलाएको ६ मिनेटपछि पुलिस घटनास्थल पुगेको थियो । पुलिसको नियन्त्रणमा आएपछि उनले आत्मसमर्पण गरेका थिए ।
पुलिस अधिकारीले उनलाई पक्राउ गर्नेबेला कुनै गोली नचलाएको अधिकारीले बताएका छन् । उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरिएको छ । यस्तै घटनास्थलबाट अर्का एकजनालाई पनि पक्राउ गरिएको छ । उनको घटनामा प्रतक्ष्य वा परोक्ष कुनै संलग्न छ छैन भनेर अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।
डेल सोल मेडिकल सेन्टरले आफ्नो हस्पिटमा ११ जना पीडित आएको जसमध्ये ९ जनाको स्थिती गम्भीर तर स्थिर भएको बताएको छ । दुई वर्षे बालकसहित दुईजनालाई एल पासो चिल्ड्रेन हस्पिटल ट्रान्सफर गरिएको बताएको छ ।