बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्छ : राष्ट्रपति पौडेल

आइतबार, फाल्गुन २४ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आह्वान गरेका छन् ।

एक सय १६औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास र प्रथाका कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटनालाई निर्मूल गर्न थप प्रभावकारी र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिए।

राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, “जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र राष्ट्र नै समृद्धिको मार्गमा अघि बढ्छ।” उनले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तअनुसार राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न जरूरी भएको उल्लेख गरे ।

उनले लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण, निर्णय प्रक्रिया र राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समान रूपमा सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा थप भनेका छन्, “यस दिवसले हामी सबैलाई महिलाको हक, अधिकार, समानता, सशक्तीकरण र सम्मानप्रति संवेदनशील भई कार्य गर्न थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस्।”

अन्तर्राष्ट्रिय महिला दिवस हरेक वर्ष आठ मार्चमा महिला अधिकार र लैङ्गिक समानता प्रवर्द्धनको पूर्ण प्राप्तिका लागि मनाइन्छ। यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने आदर्श वाक्यका साथ दिवस मनाइएको छ। विश्वभरिका महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै, प्रविधिमा पहुँच विस्तार, शिक्षित र आत्मनिर्भर बनाउने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने र उचित सम्मान सुनिश्चित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आएको छ।