बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका १०२ उम्मेदवार विजयी

आइतबार, फाल्गुन २४ २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हालसम्म १०२ उम्मेदवार विजयी भएका छन्।

आज बिहान ८ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले थप २३ निर्वाचन क्षेत्रमा अग्रता कायम गरिरहेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म १२५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। तीमध्ये नेपाली कांग्रेसले १५ क्षेत्रमा जित हासिल गरेको छ भने केही स्थानमा अग्रता कायम गरेको छ। नेकपा (एमाले)ले सात क्षेत्रमा विजय हासिल गरेको छ भने चार क्षेत्रमा अगाडि रहेको छ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी भएका छन् भने चार स्थानमा अग्रता कायम गरेका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् भने श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा रहेका छन्।

समानुपातिकतर्फ मतगणना जारी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते सम्पन्न समानुपातिकतर्फको मतगणना पनि जारी छ। हालसम्म २३ लाख ५६ हजार २१० मत गणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार हालसम्म रास्वपाले ११ लाख ९५ हजार ५९०, नेपाली कांग्रेसले चार लाख ६४०, नेकपा (एमाले)ले तीन लाख २० हजार ६८५ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख ५२ हजार ९५३ मत प्राप्त गरेका छन्।