रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका डा. मो. फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले २९ हजार ५२८ मत प्राप्त गर्दै विजय हासिल गरेको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिएका छन्।
नवनिर्वाचित आलमका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन्।
अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले नौ हजार ३२५ मत प्राप्त गरेका छन्। त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामअशिष राय यादवले दुई हजार ९६० मत ल्याएर चौथो स्थान हासिल गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३८२ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए। यसमध्ये ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिएका छन्।