बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

झापामा मतदान सुरु, सात लाख १३ हजार बढी मतदाता सहभागीताको अपेक्षा

बिहिबार, फाल्गुन २१ २०८२

झापा । झापामा आज बिहान निर्धारित समयमै उत्साहपूर्ण वातावरणमा मतदान सुरु भएको छ। मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईंका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

जिल्लाका पाँच वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ९० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। यस निर्वाचनमा झापाका सात लाख १३ हजार ५३७ मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ।

कुल मतदातामध्ये तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार ८३ महिला र आठ जना अन्य मतदाता रहेका छन्। विसं २०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तुलनामा यसपटक ५० हजार २२६ जना मतदाता थपिएका छन् भने ४९ वटा मतदान केन्द्र वृद्धि भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाभर २८५ मतदानस्थलमा ८१५ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सम्पन्न गर्न ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी परिचालन गरिएको छ।