काठमाडौं । मतदानको दिन ९फागुन २१ गते० देशभर मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल ले मतदान प्रभावित हुनेगरी वर्षा वा हिमपातको कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनका अनुसार विभागले तथ्यांकमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै एक हप्तासम्मको यथार्थपरक मौसम विवरण सार्वजनिक गरिरहेको छ। निर्वाचनलाई लक्षित गर्दै विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट पनि प्रदान गरिएको छ।
पौडेलका अनुसार लामो समयदेखि वर्षा नभएकाले पहाडी भूभागमा आंशिक बदली र तुवाँलो देखिन सक्ने अवस्था छ। विशेषगरी वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्न सक्ने भए पनि वर्षा वा हिमपातको सम्भावना भने छैन।
उनले भने, “निर्वाचनको दिन मौसम राम्रो नै रहनेछ। केही स्थानमा बादल लागे पनि आत्तिनुपर्ने अवस्था छैन। कतिपय ठाउँमा सामान्य हावा चल्न सक्छ, त्यसैले मतदान केन्द्रका टेन्टहरू बलियो गरी बाँध्न सकिन्छ। तर वर्षा वा हिमपातको कुनै सम्भावना छैन।”
विभागका अनुसार आउँदो शनिवारसम्म देशभर मौसम मुख्यतया सफा नै रहनेछ, जसले मतदान प्रक्रिया सहज रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।