काठमाडौँ । देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ ।
आज राति तराईका केही स्थानमा तुँवालो लाग्नेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली भई एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाको तत्काल सम्भावना न्यून रहेकाले तराई र उपत्यकामा वायु प्रदूषण कायम रहने चेतावनी दिँदै महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।