नुवाकोट। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन ‘निर्वाचन प्रहरी’को भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।
नुवाकोटमा निर्वाचन सुरक्षा तथा निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्थाबारे जानकारी लिन आज यहाँ पुगेका गृहमन्त्री अर्यालले निर्वाचन प्रहरी प्रमुख सुरक्षा निकायसरह जिम्मेवार भूमिका निर्वाह गर्ने बताए। शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन प्रहरीको सक्रियता अपरिहार्य रहेको उनको भनाइ थियो।
जिल्ला प्रहरी कार्यालयमा सञ्चालन भइरहेको निर्वाचन प्रहरीको तालिम अवलोकनपछि गृहमन्त्री अर्यालले भने, “स्वयंसेवकका रूपमा जिम्मेवारी भए पनि निर्वाचन प्रहरीको व्यवहार, कार्यशैली र आचरणले मतदातालाई संयमित र जिम्मेवार बनाउन ठूलो योगदान पुर्याउँछ।”
निर्वाचन प्रहरीको कार्यशैली असल भएमा स्वच्छ वातावरणमा निष्पक्ष निर्वाचन गराउन सहयोग पुग्ने उल्लेख गर्दै उहाँले सबैलाई जिम्मेवार भई उच्च मनोबलका साथ सेवा गर्न निर्देशन दिए ।
तालिम अवलोकनका क्रममा गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीलाई ऐतिहासिक अवसरका रूपमा लिन निर्वाचन प्रहरीलाई आग्रह गर्नुभयो। निर्वाचनको दिन सबैभन्दा अग्रपङ्क्तिमा रहेर मतदाताको लाइन व्यवस्थापनलगायत तोकिएका जिम्मेवारी पूरा गर्दा कुनै दबाब वा प्रभावमा नपरी साङ्गठनिक अनुशासन कायम राख्न उहाँले स्मरण गराए ।
सरकारले निर्वाचन प्रहरीलाई नेपाल प्रहरीसरह सेवा–सुविधा उपलब्ध गराउँदै चालिस कार्यदिनका लागि यही साता नियुक्ति दिएर तालिम सञ्चालन गर्दै आएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरीले देशभर एक लाख ३३ हजारभन्दा बढी तथा सशस्त्र प्रहरी बलले करिब १५ हजार निर्वाचन प्रहरी भर्ना गरेका छन्।