काठमाडौँ । देशमा फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बन्दै गएपछि मौसममा पुनः बदली आउने देखिएको छ । अघिल्लो मङ्गलबार र बुधबारको वर्षा तथा हिमपातबाट प्रभावित जनजीवन सामान्य हुँदै नखुल्दै, एक सातामै अर्को वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबारदेखि नै सुदूरपश्चिम क्षेत्रमा यसको हल्का असर देखिन थालेको छ । सोमबार प्रणाली थप सक्रिय भई पश्चिम क्षेत्रका उच्च हिमाली तथा पहाडी भूभागमा फैलिने र मङ्गलबारसम्म मध्य नेपालसम्म विस्तार हुने अनुमान गरिएको छ । ती क्षेत्रहरूमा पूर्ण बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली भई चिसो बढ्ने सम्भावना छ ।
अघिल्लो साता देखिएको जत्तिकै शक्तिशाली प्रणाली नभए पनि पश्चिम नेपालमा पहिल्यै चिसो बढिसकेको र कतिपय स्थानमा हिमपात भइरहेकाले यस प्रणालीले पनि हल्कादेखि मध्यमसम्मको वर्षा तथा हिमपात गराउने मौसमविद् अधिकारीले बताए ।
उनका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा बदली बढ्नेछ भने मङ्गलबार मध्य नेपालभन्दा पश्चिमका क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढी रहनेछ । यसपालि पश्चिमदेखि मध्य नेपालसम्म प्रणालीको प्रभाव रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी र बागमती प्रदेशका माथिल्ला भूभागमा पनि असर देखिन सक्ने भए पनि तराई र मधेश प्रदेशमा भने प्रभाव न्यून रहनेछ । काठमाडौँ उपत्यकामा मङ्गलबार राति छिटपुट वर्षा हुन सक्ने अनुमान छ ।
सोमबार तराईका केही स्थानमा हुस्सु–कुहिरो लाग्नेछ भने हिमाली भूभागमा सामान्यतया बदली रहनेछ । सोमबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा बदली रही एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्नेछ ।
मङ्गलबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात तथा वर्षा हुने सम्भावना छ । अन्य हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र सुदूरपश्चिम, गण्डकी, लुम्बिनी, कोशी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
मङ्गलबार राति पनि पश्चिम र मध्य नेपालका हिमाली तथा पहाडी भूभागमा बदली रही हिमपात र वर्षा जारी रहने सम्भावना रहेको छ ।