काठमाडौं । विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार नीति र नेतृत्व दुवै नयाँ पारित गर्ने निर्णयतिर पुग्दै गर्दा सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यसमिति बैठक डाक्न निर्देशन दिएका थिए ।
देउवाको निर्देशनअनुसार कांग्रेसको संस्थापन पक्षले मंगलबार बस्ने गरी आकस्मिक रूपमा बैठक बोलाएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल बैठक मंगलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन् ।
पार्टीको इतर समूह अर्थात् महामन्त्रीद्वयले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि कांग्रेसभित्रको विवाद फुटतिर पुगेको छ।
संस्थापन पक्षले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई अवैधानिक र अनुशासनविपरीत भएको बताइसकेको छ।
सभापति देउवा र कार्यवाहक सभापति खड्का दुवैले विशेष महाधिवेशन बहिष्कार गरिसकेका छन् ।