शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

फुटको संघारमा पुग्यो कांग्रेस

सोमबार, पुष २१ २०८२

काठमाडौं । नेपाली कांग्रेसमा चुलिएको आन्तरिक कलहका कारण फुटको संघारमा पुगेको छ। कुनैबेला कांग्रेस विभाजनमा लैजाने सभापति शेरबहादुर देउको पेल्ने नीतिले नै सोही घटना पुनरावृत्ति हुने दलानमा पुगेको हो।

२३ बर्षअघि शेरबहादुर देउवाले नेपाली कांग्रेसमा घटाएको त्यो घटनाको पुनरावृत्ति हुने संकेतका रुपमा पार्टीका गतिविधि अगाडि बढ्न थालेका छन्।

नियमित महाधिवेशन स्थगन गरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकश शर्माले विशेष महाधिवेशनको आह्वानसहित कार्यक्रम नै राखेपछि कांग्रेस पार्टीगत दुर्घटनाको गतिमा अगाडि बढिसकेको छ।

०५९ असोज ६ मा पछिल्लो पटक कांग्रेस विभाजन भएको थियो। उक्त विभाजन देउवाले गराएका थिए।

स्मरणीय छ, ०५९ जेठ ८ गते पार्टीभित्र चरम विवादीत भएपछि देउवालाई निकालिएको थियो। उनले सत्ता लम्ब्याउनका लागि प्रतिनिधि सभा विघटन गरेपछि पार्टीबाट उनलाई हटाइएको थियो।

लगत्तै उनले कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए। सोही बेला साथ दिएका नेताले उचालेको भरमा देउवाले नियमित महाधिवेशनको तोकिएको मितिका कार्यक्रम पनि यस पटक ल्याउन आलटाल गरेपछि महामन्त्रीद्वय तिव्रताका साथ विशेष महाधिवेशनका लागि अगाडि बढेका हुन्।

त्यसबेला देउवाले किन र कसरी पार्टी विभाजन गरेका थिए?

देशमा माओवादी सशस्त्र विद्रोह चरम उत्कर्षमा थियो। प्रधानमन्त्रीको रूपमा देउवा संकटकाल थप ६ महिना लम्ब्याउन चाहन्थे। तर, तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला र पार्टीको एउटा पक्ष यसको विरुद्धमा थियो। पार्टीले सरकारलाई संकटकाल नलम्ब्याउन निर्देशन दिएको थियो।

पार्टीको निर्देशन विपरीत देउवाले ८ जेठ २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रसमक्ष प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको सिफारिस गरे। पार्टीको निर्णय नमानेको र संसद विघटन गरेको भन्दै कोइराला पक्षले देउवालाई नेपाली कांग्रेसको साधारण सदस्यबाट समेत निष्कासित गरिदियो।

पार्टीबाट निष्कासित भएपछि देउवाले आफू निकटका मन्त्री, सांसद र नेताहरूलाई समेटेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) नामक नयाँ पार्टी गठन गरे। निर्वाचन आयोगले उनको पार्टीलाई मान्यता दियो र चुनाव चिह्न ‘कलश’ राखियो। यसरी पार्टी विभाजन गरेर उनले आफ्नो प्रधानमन्त्री पद जोगाउने र आफ्नै नेतृत्वमा चुनाव गराउने रणनीति लिएका थिए।

संसद विघटन भएपछि देउवा ‘कामचलाउ’ प्रधानमन्त्री बनेका थिए। तर, उनले तोकिएको समयमा चुनाव गराउन नसकेको भन्दै १८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले उनलाई ‘अक्षम’ घोषणा गर्दै पदबाट हटाए। पछि, २०६१ सालमा राजाले उनलाई फेरि प्रधानमन्त्री नियुक्त गरे, तर २०६१ माघ १९ मा राजाले सत्ता हातमा लिएपछि उनलाई पुनः हटाइयो र थुनामा समेत राखियो।

०६४ मा कांग्रेस एकीकरणमा आएर गल्ती सच्याए पनि देउवाले दुई कार्यकालको नेतृत्व गरिसकेपछि हाल परिस्थितिलाई बुझेर महाधिवेशन रोक्दा सोही घटना पुनरावृत्ति हुन लागेको टिप्पणी भएका छन्।

‘कार्य सम्पादन समितिको बैठकमा समस्या समाधानको उपाय ननिकालेको खण्डमा वा विशेष महाधिवेशनको पक्षमा पार्टी नलागे घटना दोहोरिने लयमा पुगिसक्यो’, एक नेता भन्छन्,‘यो हुन दिने कि नदिने भन्ने सभापति देउवाको हातमा नै रहेको छ।’

पुसको २७ मा कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला डाकिएको छ। सो भेलाले विधानअनुसार अगाडि नबढेको खण्डमा भने कांग्रेसमा नयाँ नेतृत्व हुने गुरु घिमिरेले बताएका छन्।