काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ स्थित सानोथिमी बालसुधार गृहमा विवाद भएको छ । बाजबिज्याईंकर्ताहरुले मंगलबार दिउँसोदेखि सुरक्षामा खटिएका प्रहरी कर्मचारीसँग विवाद गरेका हुन् ।
बालबिज्याईंकर्ताहरुले बालसुधार परिसर भित्र नाराबाजी सुरु गरेपछि मंगलबार र बुधवार प्रशासनले उनीहरूसँग छलफल गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराई नेतृत्वको टोलीसँग नाबालक बन्दीले छलफल गरेका हुन् ।
बालबिज्याईंकर्ताले खानपिनमा सुधार, खेलकुदको व्यवस्था, सरसफाइ र पुरानो भवन मर्मत गरिदिनुपर्ने माग राखेका छन् । सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूबारे बालबिज्याईंकर्ताले असन्तुष्टि जनाएपछि त्यहाँ खटिएका पाँच जना प्रहरी कर्मचारीको अदलीबदली गरिएको छ ।
बालसुधार गृहमा २३ जना प्रहरी कार्यरत छन् । मंगलबारबाट सुरु भएको विवाद अहिले सामान्य भैसकेको भक्तपुरका एसपी सुर्य खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘व्यवस्थापनको पाटो महिला बालबालिका मन्त्रालयसँग सम्बन्धित हुन्छ, उहाँहरुले नाबालक बन्दीहरूसँग व्यवस्थापनबारे छलफल गरेपछि अहिले अवस्था सामान्य बनेको छ ।’
बालबिज्याईंकर्ताहरुले कैद सजाय कम हुनुपर्ने, त्यहाँबाट अन्यत्र सार्न नपाइने, औषधी उपचारको व्यवस्थापन र भेटघाटको समय बढाउनुपर्ने लगायतका माग राखेका छन् ।