प्यासिफिक एशिया ट्राभल एसोसिएसन (PATA) नेपाल च्याप्टरले सार्वजनिक–निजी साझेदारीमार्फत नेपालको पर्यटन प्रवर्द्धन र विकासमा योगदान दिएको ५० वर्षको यात्रालाई उत्सवका साथ मनाउँदै स्वर्ण जयन्ती भव्य रूपमा सम्पन्न गरेको छ।
सन् १९७५ मा स्थापना भएको पाटा नेपाल च्याप्टरको पाँच दशक लामो योगदानको स्मरणस्वरूप २९ डिसेम्बर २०२५ का दिन रोयल ट्युलिप, काठमाडौँमा विशेष समारोह आयोजना गरिएको थियो।
कार्यक्रममा वरिष्ठ सरकारी अधिकारी, पर्यटन क्षेत्रका नेतृत्वकर्ता, पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्षहरू, निजी क्षेत्रका अग्रणी व्यक्तित्व, अन्तर्राष्ट्रिय साझेदार, पाटा सदस्य तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय अनिल कुमार सिन्हाले कार्यक्रम उद्घाटन गर्दै पर्यटन नीति निर्माण, प्रवर्द्धन, मानव स्रोत विकास तथा पर्यटन पुनरुत्थानमा पाटा नेपाल च्याप्टरले खेलेको भूमिकाको प्रशंसा गरे।
पाटा अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत नूर अहमद हमीदले भिडियो सन्देशमार्फत पाटा नेपाल च्याप्टरलाई बधाई दिँदै विश्वव्यापी पाटा सञ्जालभित्र यसको योगदान अनुकरणीय रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा स्वागत संगीत, यंग टुरिजम प्रोफेसनल्स (YTPs) द्वारा प्रस्तुत सांस्कृतिक नृत्य तथा “पाटा नेपाल च्याप्टरको सार्वजनिक–निजी साझेदारीको ५० वर्षे यात्रा” शीर्षकको स्मारक भिडियो प्रदर्शन गरिएको थियो।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले संस्थापकदेखि हालसम्मका सबै नेतृत्व, सदस्य तथा साझेदारप्रति कृतज्ञता व्यक्त गर्नुभयो। समारोहमा विभिन्न वक्ताले दिगो र जिम्मेवार पर्यटन प्रवर्द्धनमा पाटा नेपाल च्याप्टरको अतुलनीय योगदानको चर्चा गर्दै आगामी ५० वर्षका लागि शुभकामना व्यक्त गरे।