शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ईश्वर पोखरेल समूह आफ्ना एजेन्डा बोकेर देश दौडाहमा जाने

आइतबार, पुष ६ २०८२

काठमाडौँ  । हालै सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित ईश्वर पोखरेल समूहले आफ्ना एजेन्डा नछाड्ने र देशव्यापी रूपमा सक्रिय हुने निष्कर्ष निकालेको छ।

शनिबार कार्की बैंक्वेटमा आयोजित पोखरेल समूहका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको महाधिवेशन समीक्षा भेलाले पार्टीका आन्तरिक फोरम र बाहिर दुवै ठाउँमा आफ्ना मुद्दा निरन्तर उठाउने निर्णय गरेको हो। भेलामा पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज) का आधारमा पार्टी निर्माण तथा आन्तरिक लोकतान्त्रीकरणलगायतका एजेन्डा विधिसम्मत ढंगले अघि बढाउने निष्कर्ष निकालिएको नेताहरूले बताएका छन्।

भेलालाई सम्बोधन गर्दै नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्मका कमजोरी स्वीकार गर्दै सुधारको बाटोमा जानुपर्ने धारणा राखे। उनले जितको बलमा आत्मसमर्पण गराउन खोजिए त्यो स्वीकार्य नहुने चेतावनीसमेत दिनुभयो। साथै, भदौ २३ गते भएको घटनाको मुख्य जिम्मेवारी पार्टी अध्यक्ष ओलीकै भएको दाबी पनि गर्नर

प्यानलको धन्यवाद भेलामा पोखरेलले कमजोरी नस्वीकारे कम्युनिस्ट आन्दोलन नै संकटमा पर्ने चेतावनी दिए। उनले भने, “हामी विभाजन अस्वीकार गर्छौँ, तर आत्मसमर्पण पनि मञ्जुर छैन।”

पोखरेलले पार्टी अध्यक्ष ओलीका अभिव्यक्तिमाथि प्रश्न उठाउँदै भने, “म जे बोल्छु त्यही हो एमाले, सुन्दा पनि आङ सिरिङ हुन्छ। म भएन भने एमाले हुन्न भन्ने अभिव्यक्ति के अर्थमा आएको हो ?”

पोखरेल समूहले विभाजनको बाटो नअपनाउने तर पार्टीभित्रैबाट सशक्त रूपमा वैचारिक र संगठनात्मक बहसलाई निरन्तरता दिने संकेत गरेको छ।