काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिमालले ११औँ महाधिवेशनमा आफ्नो हार अस्वाभाविक नभएको र चिन्ताको विषय नरहेको बताएका छन्। केपी ओलीका कोर टीममा रहेका रिमाल उपमहासचिव र सदस्य दुवै पदमा पराजित भएका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै रिमालले महाधिवेशनको परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धतासाथ स्वीकार गरेको उल्लेख गरे। उनले महाधिवेशनलाई असाधारण, गरिमामय, उत्साहपूर्ण र सामूहिक उपलब्धिको गहिरो अनुभूतिसहित सम्पन्न भएको बताए।
उनले भने, “महाधिवेशनमा स्वस्थ र कमरेडली प्रतिस्पर्धा देखियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित टीम प्रायः सर्वसम्मत रूपमा अनुमोदित भयो, जसमा एकजना उपमहासचिव-म स्वयं र एकजना उपाध्यक्ष बाहेक सबै निर्वाचित हुनुभयो। यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय। यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन्। हामी जनताको बहुदलीय लोकतन्त्रको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौँ।”