काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै छन्।
हाल नख्खु कारागार प्रशासनले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएको छ र केहीबेरमा जहाजबाट भैरहवा लाग्ने तयारी भइरहेको छ।
भैरहवा पुगिसकेपछि उनी जिल्ला अदालत रुपन्देहीमा छुटपुर्जी कागजात लिनुपर्नेछ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रवि लामिछानेले पेश गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो।
तर विमानस्थल वरिपरि हुस्सु लाग्दा बिहान ७:५५ को उडान डिले भएको रुपन्देहीका रास्वपा नेता मधु अर्यालले जानकारी दिए। “एयरपोर्ट खुलेको छैन, सभापति काठमाडौं एयरपोर्टमा बसेको धेरै समय भयो, हामी भैरहवा एयरपोर्टबाट सिधै अदालत जाने तयारीमा छौँ,” उनले बताए
भैरहवा विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण विमान उडान हुन सकेको छैन। सूचना अधिकारी विनोदसिंह राउतका अनुसार दृश्यता खुल्न करिब दुई घण्टा लाग्ने अनुमान छ। रास्वपाका कार्यकर्ता विमानस्थल वरिपरी पुगिसकेका छन्।