शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने अध्यक्ष ओलीको चेतावनी

पञ्चायतकालीन कूकर्म दोहोर्‍याउने प्रयास भइरहेको आरोप

शुक्रबार, पुष ४ २०८२

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण भए देश ठप्प पार्ने चेतावनी दिएका छन्।

बिहीबार पद तथा गोपनीयताको शपथग्रहणपछि काठमाडौँमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिएका हुन् ।

अध्यक्ष ओलीले एमाले नेतृत्वविरुद्ध प्रचार मात्र नभई भौतिक आक्रमण र जाली मुद्दामार्फत पञ्चायतकालीन कूकर्म दोहोर्‍याउने प्रयास भइरहेको आरोप लगाए। यस्तो अवस्था आयो भने आन्दोलनमा उत्रिन पार्टी कार्यकर्तालाई तयारी अवस्थामा रहन उनले निर्देशन दिए।

उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने बताउँदै त्यसका लागि देशभरका कार्यकर्ता तयारीमा रहनुपर्ने उल्लेख गरे। अध्यक्ष ओलीले भने, “अब एमाले नेतृत्वमाथि भौतिक हमलाद्वारा आक्रमण गर्ने वा जाली मुद्दा लगाउने हल्ला मच्चाइएको छ। यो मिडिया ट्रायल यथार्थमा परिणत हुन सक्छ। म स्पष्ट भन्छु, एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्छ। यो सरकार ढल्नुपर्छ, ढालिनेछ।”

उनले एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महँगो पर्ने चेतावनी दिँदै, पार्टीलाई शब्दमा होइन काममा तयार देखाउनुपर्ने बताए।

यसैबीच, एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउँसो १ बजे काठमाडौँको कार्की ब्यांक्वेटमा बस्दै छ।

अध्यक्ष ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिसकेको छ। आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीको जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ। साथै केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको सम्भावित एजेन्डामा रहेको नेताहरूले जनाएका छन्।