शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले मतगणना अपडेट : ओली प्यानलको वर्चस्व

बिहिबार, पुष ३ २०८२

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। बुधबार सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएपछि अहिले मतगणना भइरहेको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार गणना सुरु भएको तीन घण्टाभित्र प्रारम्भिक परिणाम आउने अपेक्षा गरिएको छ।

हालसम्म सार्वजनिक भएको परिणामअनुसार ओली प्यानलको वर्चस्व देखिएको छ। अध्यक्ष पदमा केपी शर्मा ओलीले सुरुदेखि नै अग्रता बनाइरहनुभएको छ भने महासचिव पदमा शंकर पोखरेल अगाडि रहनुभएको छ।

पछिल्लो मतपरिणामअनुसार अध्यक्ष पदमा ओलीले ८४३ मत प्राप्त गर्नुभएको छ भने ईश्वर पोखरेलले २९६ मत पाउनुभएको छ। महासचिव पदमा शंकर पोखरेलले ६१३ मत ल्याउँदा सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गर्नुभएको छ।

उपाध्यक्ष पदमा पनि ओली प्यानलका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्। उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ सर्वाधिक मतसहित अग्रस्थानमा रहँदा विष्णु प्रसाद पौडेल दोस्रो र रामबहादुर थापा तेस्रो स्थानमा छन्। आधा मत अर्थात् १ हजार १३९ मत गनिँदा गुरुङले ९ सय, पौडेलले ८४६ र थापाले ७७४ मत प्राप्त गरेका छन्।

ईश्वर पोखरेल प्यानलका गोकर्ण विष्ट ७१३ मतसहित चौथो स्थानमा रहँदा ओली प्यानलका रघुजी पन्त ६१७ मतसहित पाँचौँ स्थानमा छन्।

उपमहासचिव पदमा पनि ओली प्यानलका लेखराज भट्ट र रघुवीर महासेठ अग्रस्थानमा छन् भने पोखरेल प्यानलका योगेश भट्टराई तेस्रो स्थानमा रहनुभएको छ।

सचिव पदमा पनि ओली प्यानलका उम्मेदवारहरू अगाडि देखिएका छन्। महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल र शेरधन राईले अग्रता लिइरहेका छन् ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।