शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुख निर्वाचन पुस ६ गते

बिहिबार, पुष ३ २०८२

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट भोलि शुक्रबार विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै मधेस प्रदेशसभा सचिवालयलाई पत्र पठाएका छन्। मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा औपचारिक पत्राचार गरिएको हो। संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेताको हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभाको वर्तमान समीकरणअनुसार मुख्यमन्त्री यादवले सहजै विश्वासको मत प्राप्त गर्ने अनुमान गरिएको छ। विश्वासको मत प्राप्त गरेपछि मधेस प्रदेश सरकार थप स्थिर भई बजेट कार्यान्वयन, विकास निर्माण तथा सुशासनका कार्यमा अझ सक्रिय हुने अपेक्षा गरिएको छ।

सभामुखका लागि पुस ६ गते निर्वाचन

यसैबीच मधेस प्रदेशसभाको सभामुख पदका लागि यही पुस ६ गते निर्वाचन हुने भएको छ। प्रदेशसभा बैठकमा उपसभामुख बबिता राउत ईशरले सभामुख निर्वाचनको मिति तय भएको जानकारी दिइन् ।

प्रदेशसभाको सभामुख पद रिक्त रहेकाले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन प्रक्रिया अघि बढाइएको उनले बताइन्। निर्वाचनका लागि पुस ५ गते सभामुख निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेशसभा सचिव वासुप्रसाद कोइरालालाई निर्देशन दिइएको छ।

प्रदेशसभाको अर्को बैठक पुस ४ गते शुक्रबार साँझ ४ बजे बस्ने जनाइएको छ।